काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा अनलाइन माध्यमबाट भइरहेको बिक्री–वितरणप्रति गम्भीर चासो व्यक्त गर्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ।
सोमबार जारी सूचनामा विभागले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अन्तर्गत नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्रमार्फत आयात वा निर्यातमा पूर्ण वा परिमाणात्मक प्रतिबन्ध लगाएका वस्तुहरू अझै पनि बजारमा कारोबार भइरहेको गुनासो प्राप्त भएको उल्लेख गरेको छ।
विभागका अनुसार २०७६ साल असार २ र २०७६ साल चैत २४ गतेसहित विभिन्न मितिमा प्रकाशित नेपाल राजपत्रमार्फत केही वस्तुको निकासी तथा पैठारीमा प्रतिबन्ध र नियन्त्रणसम्बन्धी व्यवस्था लागू गरिएको थियो।
विभागले प्रतिबन्धित वस्तुको अनधिकृत आयात, भण्डारण वा बिक्री–वितरण कानुनविपरीत हुने स्पष्ट पार्दै सबै आयातकर्ता, भण्डारणकर्ता तथा व्यवसायीलाई प्रचलित कानुन, सर्त र बन्देजको पूर्ण पालना गर्न आग्रह गरेको छ।
यस्तै, प्रतिबन्धित वस्तुको कारोबार गरेको पाइएमा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य सम्बन्धित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।
तपाईको प्रतिक्रिया