साना–ठूला होइन, सबै बचतकर्तालाई न्याय चाहियो’ भन्दै सहकारी पीडित फेरि सडकमा
काठमाडौं। सहकारी बचतकर्ताहरूले आफूहरूको बचत सुरक्षित रूपमा फिर्ता गराउन र सबै बचतकर्ताप्रति समान व्यवहार गर्न माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारसँग सहकारी पीडितलाई छिटो न्याय दिन, बचतकर्ताबीच साना–ठूला भनेर विभेद नगर्न तथा पीडितहरूको एकतालाई कमजोर पार्ने कुनै पनि प्रयास नगर्न माग गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले ‘पीडितलाई न्याय दे’, ‘सहकारी पीडितका समूहलाई फुटाउने षड्यन्त्र बन्द गर’, ‘छिटो न्याय दे’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले बचतकर्ताको रकम साना वा ठूला बचतकर्ताको आधारमा नभई सबैलाई समान रूपमा फिर्ता गरिनुपर्ने, आवश्यक परे ऋणीहरूबाट रकम असुलउपर गरेर भए पनि बचत फिर्ता सुनिश्चित गर्नुपर्ने माग राखेका छन्।
अभियानका प्रतिनिधिहरूले आफ्नो आन्दोलन विशुद्ध रूपमा सहकारी पीडितहरूको साझा अभियान भएको उल्लेख गर्दै यसमा कुनै पनि राजनीतिक दल वा बाह्य हस्तक्षेप स्वीकार नगर्ने र पीडितकै नेतृत्वमा आन्दोलनलाई निरन्तर अघि बढाइने बताएका छन्।
उनीहरूले सरकारलाई आफ्ना मागहरू तत्काल सम्बोधन गर्न आग्रह गर्दै दुई दिने ध्यानाकर्षण र्यालीपछि पनि सुनुवाइ नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।
तपाईको प्रतिक्रिया