आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा रहेकाले नेपाल राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ फिर्ता लिने भएको छ। राष्ट्र बैंकले साउन ११ गते निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागिएको जनाएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान गरिएको रकमको सीमाभित्र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन्। बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने इच्छुक संस्थाले फरक–फरक ब्याजदरमा बहुबोलकबोलसमेत गर्न सक्ने व्यवस्था गरिएको छ।
यस निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। १७९ दिन अवधिको यस उपकरणको साँवा र ब्याज आगामी माघ ८ गते भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया