शुक्रबार ९ असोज २०८३
राजनीति

जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म चुकाउने ? राष्ट्रसंघमा प्रधानमन्त्री बालेनको प्रश्न

शुक्रबार असोज ९, २०८३/ Friday 09-25-26

न्यूयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरे।

उनले भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै यो नेपालको मात्र समस्या नभई सम्पूर्ण मानवताका लागि चेतावनी भएको बताए।

केही साताअघि आएको विपद्ले केही मिनेटमै पुल, सडक, विद्यालय तथा हजारौँ मानिसको जीविकोपार्जनमा क्षति पुर्‍याएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जलवायु संकटको प्रभावलाई विश्वले गम्भीरतापूर्वक लिनुपर्ने बताए।

उनले करिब तीन वर्षअघि संयुक्त राष्ट्रसंघका महासचिवले सगरमाथाको आधार क्षेत्रबाट जलवायु संकटबारे गरेको आह्वानलाई वैज्ञानिक समुदाय र नेपालले गम्भीरतापूर्वक लिए पनि अन्तर्राष्ट्रिय राजनीतिक नेतृत्वबाट अपेक्षित गतिमा ठोस कदम चालिन नसकेको बताए।

जलवायु परिवर्तनका कारण पर्माफ्रस्ट पग्लिने, हिमनदी कमजोर हुने तथा चट्टान पहिरोको जोखिम बढ्ने क्रम तीव्र भएको भन्दै उनले हिमालयको पारिस्थितिक प्रणाली जोगाउनु विश्वकै साझा जिम्मेवारी भएकोमा जोड दिए।

प्रधानमन्त्री शाहले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई अन्तर्राष्ट्रिय तहबाट गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्।

 

तपाईको प्रतिक्रिया