पहिरोले मुख्य राजमार्ग ठप्प, पृथ्वी र बीपी राजमार्गसहित सडक अवरुद्ध
काठमाडौं । लगातारको वर्षापछि गएको पहिरोका कारण देशका विभिन्न प्रमुख सडक तथा राजमार्गमा यातायात प्रभावित भएको छ।
धादिङका कृष्णभीर, परेवा भीर र ज्यामिरेघाटलगायत स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक खुलाउन पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, विभिन्न ठाउँमा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड पनि बन्द भएको छ। पहिरो हटाउने काम भइरहेकाले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन रोकिएको चितवन प्रहरीले जनाएको छ।
अविरल वर्षासँगै पहिरो खसेपछि बीपी राजमार्ग पनि अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खसेपछि सडक बन्द भएको प्रहरीले जनाएको छ।
यसैगरी, काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि हुङहुङ सडकखण्डसमेत प्रभावित भएको छ।
लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि विभिन्न सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले दिउँसो सडक खुलेको अवस्थामा समेत बाढीपहिरोको जोखिमलाई ध्यानमा राखेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया