शुक्रबार ९ असोज २०८३
राजनीति

राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल–भारत–चीनबीच जलवायु सहकार्यको नयाँ संयन्त्र बनाऔं

शुक्रबार असोज ९, २०८३/ Friday 09-25-26

प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गरेका छन्।

हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, कृषि, पारिस्थितिक प्रणाली र जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उनले हिमाली क्षेत्रमा सहकार्यलाई अझ संस्थागत बनाउनुपर्ने बताए।

प्रस्तावित संयन्त्रअन्तर्गत स्याटेलाइट तथ्यांक र विशेषज्ञता आदानप्रदान, जोखिमयुक्त हिमतालको निगरानी, संयुक्त पूर्वसूचना प्रणालीको विकास तथा विपद्का समयमा सीमापार सहायता समन्वय गर्ने प्रस्ताव गरिएको छ।

जलवायु वित्तमा अनुदानमा जोड

जलवायु संकटबाट प्रभावित गरिब तथा कमजोर मुलुकलाई ऋण वा साना–साना अनुदानले मात्र पर्याप्त सहयोग नहुने प्रधानमन्त्री शाहले बताए।

उनले जलवायु वित्तमा सहज पहुँच, पर्याप्त अनुदान तथा ‘लस एन्ड ड्यामेज’सम्बन्धी संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। विपद्पछि मात्र सहयोग खोज्ने नभई विपद् आउनुअघि नै जोखिम न्यूनीकरण र पूर्वतयारीमा लगानी गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय व्यवस्थामा समेत सुधारको आवश्यकता औँल्याउँदै सैन्य तथा आर्थिक शक्तिका आधारमा आवाजको प्रभाव निर्धारण हुने प्रवृत्तिबाट बाहिर निस्कनुपर्ने बताए।

उनले किसानले समयमै मल नपाउने तर युद्धका सामग्री भने विश्वका विभिन्न स्थानमा सहजै पुग्ने अवस्थामाथि प्रश्न उठाउँदै खाद्य सुरक्षा र मानवीय आवश्यकताका लागि पनि प्रभावकारी अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली आवश्यक रहेको बताए।

नयाँ पुस्ताको आवाज उठाए

सम्बोधनको अन्तिम भागमा प्रधानमन्त्री शाहले विश्व अहिले गम्भीर अनिश्चितताको अवस्थामा रहेको उल्लेख गर्दै नयाँ पुस्ताका आकांक्षा र अपेक्षालाई सम्बोधन गर्ने राजनीतिक तथा लोकतान्त्रिक प्रणाली आवश्यक रहेको बताए।

नेपालका युवाले इमानदारी र जवाफदेहिताको राजनीति चाहेको उल्लेख गर्दै उनले राज्यले नागरिकलाई सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा र स्वदेशमै अघि बढ्ने समान अवसर सिर्जना गर्नुपर्ने बताए।

बढ्दो जलवायु जोखिमसँग जुध्न नेपालले आकस्मिक प्रतिक्रियाबाट तयारीको संस्कृतितर्फ जानुपर्ने, उत्थानशील पूर्वाधार निर्माण, बीमा र नवप्रवर्तनलाई प्रोत्साहन, जीवाश्म इन्धनमा निर्भरता घटाउने तथा पूर्वसूचना प्रणालीलाई थप बलियो बनाउने प्रतिबद्धतासमेत प्रधानमन्त्री शाहले व्यक्त गरे।

सम्बोधनको अन्त्यमा उनले विश्व कल्याण र शान्तिका लागि पशुपतिनाथ तथा बुद्धको सन्देश स्मरण गरेका थिए। 

 

तपाईको प्रतिक्रिया