आइतबार १० श्रावण २०८३
राजनीति

भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीलाई

आइतबार श्रावण १०, २०८३/ Sunday 07-26-26

काठमाडौँ ।  भारतको केन्द्रीय शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई दिइएको छ। यसअघि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको हो।

प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीको सिफारिसमा स्वीकृत गर्नुभएको हो। राष्ट्रपति भवनबाट जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो।

जोशीले शिक्षा मन्त्रालयसँगै उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय र नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुहुनेछ।

यसैबीच, धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) ले प्रदर्शन गर्दै आएको थियो। केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता तथा प्रधानको राजीनामापछि सीजेपीले आन्दोलन स्थगित गर्दै प्रदर्शनकारीलाई घर फर्किन अपिल गरेको छ।

प्रधानले राजीनामा दिएपछि जन्तर–मन्तरमा प्रदर्शनकारीहरूले उत्सवसमेत मनाएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिप्केले यसलाई आफूहरूको ‘जित’ भएको प्रतिक्रिया दिनुभएको छ।

 

तपाईको प्रतिक्रिया