आइतबार १० श्रावण २०८३
खेलकुद

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

आइतबार श्रावण १०, २०८३/ Sunday 07-26-26

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा लगातार दुई खेलमा पराजित नेपालले सोमबार तेस्रो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र नामिबियाबीचको खेल सोमबार दिउँसो ४ः४५ बजे सुरु हुनेछ। शृङ्खलाका सुरुवाती दुई खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा अपेक्षित प्रदर्शन गर्न नसकेको नेपाल पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा आयोजक नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

पहिलो खेलमा नामिबियाले नेपाललाई ८ विकेटले हराएको थियो। उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १५८ रनको लक्ष्य दिएको थियो। तर, नामिबियाले उक्त लक्ष्य ३७ ओभर ४ बलमा मात्र दुई विकेट गुमाएर पूरा गर्दै सहज जित निकालेको थियो।

त्यसपछि नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा पनि नेपालको प्रदर्शन निराशाजनक रह्यो। नेपालले दिएको १५८ रनको लक्ष्य आयोजक टोलीले ३५ ओभरमै चार विकेट गुमाएर पूरा गर्दै ६ विकेटको जित हासिल गर्‍यो।

लगातार दुई हारपछि नेपालमाथि तेस्रो खेल जित्नैपर्ने दबाब बढेको छ। अपेक्षित प्रदर्शन गर्न नसक्दा लिग–२ को शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना समेत कठिन बन्दै गएको छ।

यसै शृङ्खलामा नेदरल्यान्ड्सले भने लगातार दुई जित निकाल्दै आफ्नो स्थिति बलियो बनाएको छ। नेपाललाई ६ विकेटले हराएको नेदरल्यान्ड्सले शनिबार नामिबियामाथि ५८ रनको जित दर्ता गरेको थियो। ३० खेलबाट ३६ अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ।

नेपाल र नामिबिया भने समान २४ अंकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन्।

लगातार दुई खेलमा पराजित नेपालले सोमबार नामिबियासँग खेलेपछि बुधबार नेदरल्यान्ड्ससँग चौथो खेल खेल्नेछ। विश्वकपको ग्लोबल क्वालिफायरमा सिधा स्थान सुरक्षित गर्ने सम्भावना कायम राख्न नेपालले अब बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्नुपर्नेछ।

 

तपाईको प्रतिक्रिया