प्रतिनिधिसभा बैठक बस्दै, मतदाता नामावली विधेयक पारित गर्ने तयारी
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठक संसद भवन सिंहदरबारमा हुने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । पर्यटन क्षेत्रको व्यवस्थापन, प्रवर्द्धन तथा नीतिगत सुधारलाई लक्षित गर्दै उक्त विधेयक अघि बढाइएको बताइएको छ ।
त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि समेत दफाबार छलफल गरिनेछ । छलफलपछि ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश हुने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकलाई निर्वाचन प्रणाली, मतदाता व्यवस्थापन तथा कानुनी संरचनासम्बन्धी महत्वपूर्ण निर्णयको तयारीका रूपमा हेरिएको छ ।
तपाईको प्रतिक्रिया