बिहीबार १० मङ्सिर २०८३
राजनीति

पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ

बिहीबार मङ्सिर १०, २०८३/ Thursday 11-26-26

काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसिया पठाउने श्रमिकसँग अवैध रूपमा रकम असुली गरी ठगी गरेको आरोपमा उनलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई आज पक्राउ गरिएको हो। उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

मलेसिया जाने नेपाली श्रमिकबाट नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताविपरीत रकम संकलन गरी ठगी गरेको आरोपमा अर्यालसहितका व्यक्तिमाथि अनुसन्धान भइरहेको छ।

यसअघि नै यही प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्।

त्यस्तै, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख एवं सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूविरुद्ध जाहेरी दिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो।

सीआईबीले आरोपितहरूमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

 

तपाईको प्रतिक्रिया