आज महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस, विश्वभर विविध कार्यक्रम आयोजना हुँदै
काठमाडौँ। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ।
महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले मनाइने यस दिवसमा संयुक्त राष्ट्रसङ्घले कानुनी संरक्षण, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ।
संयुक्त राष्ट्रसङ्घीय लागूऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र यूएन वुमनको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो। यो तथ्याङ्कअनुसार दैनिक औसत १३७ महिला तथा बालिकाको हत्या हुने गरेको छ। अर्थात् प्रत्येक १० मिनेटमा एक जनाले ज्यान गुमाउने गरेका छन्।
प्रतिवेदनले महिला तथा बालिकामाथि हुने हिंसा प्रायः लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिएको उल्लेख गरेको छ। हत्या उनीहरूमाथि हुने हिंसाको सबैभन्दा चरम रूप हो।
महिला हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रयास हुँदै आएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो भने सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरेको थियो।
महिला अधिकारकर्मीले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन्। सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिन चयन गरिएको हो।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गर्दै नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो।
यस दिवससँगै आजदेखि डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सञ्चालन हुँदैछ। यस अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज र समुदायको सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा विश्वव्यापी समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि न्याय सुनिश्चित गर्न र रोकथामका प्रयास तीव्र बनाउन आह्वान गरेका छन्।
उनले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रय उपलब्ध गराउन तथा हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया