काठमाडौँ ।धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग वार्ता गरी अनशनको निकास खोज्न सरकारको टोली धनगढी पुगेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार बुद्ध एयरको उडानमार्फत धनगढी पुगेका हुन्।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनमा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगेका थिए। शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गर्दै वार्ताका लागि वातावरण बनाउने प्रयास गरेका थिए।
सरकारी टोलीले आइतबार नै डा. केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले संवाद र सहमतिमार्फत सत्याग्रहको समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ।
यसैबीच स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिबार चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। उनको अस्पतालमै उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया